Friday, 13 October 2017

चेलीबेटी बेचविखन तामांग समुदायको परम्परागत समस्या देशको समस्याको मुख्य चुनौती

समस्या छ त्यसैले त हामी पढे लेखेका शिक्षित दीक्षित व्यक्तिहरु छौ समस्याको निराकरण गर्न | तर मूलभुत कुरा हामीले जुनसुकै समस्याको जरा/जड पहिचान गर्नु पर्छ तब मात्र समस्याको निराकरण गर्न सकिन्छ नत्र दोष खेल खेल्यो बस्यो भ्यागुताले ट्वार ट्वार गरी उफ्री झैँ वर्षेनी वर्षायाममा |
"केहि समय पहिला, कान्तिपुर दैनिकमा प्रकाशित एउटा समाचारमा, नुवाकोट बालकुमारीका ८ का तामाङ थर भएका बाबुले आफ्नै १५ वर्षकि छोरीलाई बिक्रि गरेका थिए । गाँउबाट शहर घुमाउने वहानामा तीनजना दलालमार्फत छोरीलाई १० हजारमा भारतमा लगि बेचेका थिए । नेपालमा चेलिवेटि बेचविखन हुने जिल्लाहरुमा नुवाकोट, मकवानपुर, सिन्धुपालचोक जिल्लाका नाम प्रायजसो छापाहरुमा पढन पाईन्छ तापनि यो अवस्थालाई रोक्न न सरकारी निकायले सकेको छ । न त गैरसरकारी संस्थाहरुले नै । चेलिबेटि बेचविखनमा आफनै बाबुको, आफन्तको, लोग्नेले स्वास्नी, मामाले भान्जी, काकाले भतीजी र स्थानीय चिनजानका व्यक्तिहरुको संलग्नता रहेको प्रकाशमा आउने गरेका छन् ।
बिगतमा, सिन्धुपालचोक जिल्लाका एकजना अभियुक्तलाई चेलवेटी बेचबिखन गरेको र उनीहरुलाई देह व्यवापमा संलग्न गराएको अभियोगमा सिन्धुपालचोक जिल्ला अदालतले १७० वर्ष कैदको घोषणा गरेको समाचार प्रकाशमा आएको थियो । जिल्ला न्यायधिस अनन्त राज डुम्रेको एकल ईजलासले ३७ वर्षीय प्रेम तामाङ बिरुद्ध यस्ता ऐतिहासिक फैसला गरेको हो । यसरी १५ देखि १६ बर्षका ६ जना बालिकालाई भारतमा बिक्री गरेको अभियोगमा अभियुक्तलाई सजाय गरिएको थियो।"
- मनोज लामिछाने [१]
किन, कसरी, कहिले र कसले चेलीबेटी बेचबिखन जस्तो अमानवीय दानवीय जघन्य अपराधको एतिहासिक कालो दिनको शुरवात गरियो नेपालमा जसको कारण आफ्नै बाबुले छोरी, आफन्तले नातेदारको छोरीचेली, लोग्नेले स्वास्नी, मामाले भान्जी, काकाले भतीजी, दाजुले बहिनी, भाईले दिदि र स्थानीय चिनजानका व्यक्तिहरुको संलग्नता छ र यो किन अपराधिक परम्परा र प्रथा आजसम्ममा पनि निरन्तरता र कायम रहन सफल भयो भनेर पनि लेखहरु लेखे पो समस्याको मूल जड /जरा पहिचान गरी निराकरण गर्न सकिन्छ | खालि यी यस्ता सतही धरातलीय लेखहरु लेख्यो नेपालको प्रमुख तीन जिल्लाहरु नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोक र सो भेगका तामांग समुदायको बारेमा घरीघरी तथ्यगत परिस्थिति कोट्यायो सकियो उनीहरुको दवित्य |
नेपालमा राणाकालिन सत्तामा सिन्धुपाल्चोकको हेलम्बुबाट शेर्पा, ह्याल्मु र तामांग समुदायका छोरी चेली जबर्जस्ति राणा शासक शोसकहरुले आफ्नो दरबारमा ल्याएर यौन दासी बनाउने गर्थ्यो र राणा शासक शोसकहरुलाई हिमाली भेगका ती समुदायका छोरी चेलीहरु दैनिक नयाँ नौलो आफ्नो यौन प्यासको लागि चाहिने भए पछि हेलम्बुको साथै सिन्धुपाल्चोक जिल्लाको हेलम्बुको ठिक तल रहेको गाउँ ईचोकबाट र हेलम्बुको पारी पट्टि नुवाकोट जिल्लाको घ्यांङफेदीबाट तामागं समुदायका छोरी चेलीहरुलाई यौन दासी को रुपमा राजदरबार ल्याउने प्रचलन थालियो | पछि हुँदा हुँदा त्यस भेगका छोरी चेलीहरुले पनि नपुगे पछि घ्यांङफेदीको छेउको गाउँ शिखरबेसी जुन नुवाकोट जिल्लामा पर्छ सोबाट ल्याउन थालियो | यसरी राणाकाल देखि शुरवात गरिएको तामांग समुदायको छोरीचेलीलाई जबर्जस्ती बेश्या बनाउने प्रथा र परम्परा पंच्यातकालमा पनि निरन्तरता गरियो | जसको लागि नुवाकोट जिल्लामा पन्चेको हस्ती डा. प्रकाश चन्द्र लोहिनी र सिन्धुपाल्चोक जिल्लामा पन्चेको हस्ती पशुपति शम्सेर जंग बहादुर राणा जस्ताले बिडो थाम्दै आई रहेका थियो सो कुप्रथा र कुपरम्परा तामांग समुदाय निरन्तरता दिलाउन |
साथै राणाकाल देखि नै हिन्दुस्तानमा शासन सत्ता चलाउदै आई रहेका अंग्रेजहरुले आफ्नो सैन्य फौजीहरुको थकान मेटाउन र यौन तृष्णा मेटाउन नेपालका राणाहरुबाट आफ्नो दरबारमा भएका यौन दासीहरुलाई बिक्रि गरेको भन्ने ऐतिहासिक तथ्यहरु रहेछ | जब राणा सत्ता स्वाहा भयो त्यति बेला पनि आफ्नो राजदरबारमा रहेका यौन दासीहरुलाई आफु हिन्दुस्तान भाग्दा उतै लागेको भन्ने ऐतिहासिक तथ्यहरु यदाकदा भेटिन्छ |
त्यसैले जहिले पनि तामांग समुदायमा र तामांग समुदाय बाहुल्यता भएको नेपालको मुख्य तीन जिल्लाहरु: नुवाकोट, मकवानपुर र सिन्धुपाल्चोक भनेर मात्र किन लेखहरु लेख्ने गर्छन | यी यस्ता सतही धरातलीय लेखहरु लेख्नुको मूल उद्धेश्य र नियत के हो लेखकहरुको भनेर खोज तलास गर्ने दिन आई सक्यो अब त नेपालमा भन्ने लाग्छ |
तामांग समुदायमा त्यसरी जबर्जस्ती राणा शासक शोसकहरुले लादिएको चेलीबेटि बेचबिखन जस्ता जघन्य अपराधको कारणले गर्दा नेपालमा कयौ व्यक्तिहरुले एनजीओ चलाई आफ्नो पहिचान स्थापना गरेको छ विश्वमा, अनेक पुरुस्कारहरु थापेका छन् | तर पनि समस्या जहीको त्यहि किन छ? कसैले गहन र गम्भीर रुपमा सोध खोज गरी अध्धयन अनुसन्धानात्मक तथ्यहरु राख्ने खासै झमर्को गरेको छैन | खालि शोषित पिडित शिकारलाई मात्र दोष लगाउने खेल (Victim Blaming) खेल्दै आई रहेका पाउने गर्छौ पढे लेखेका शिक्षित दीक्षित नेपालको विद्वान बुद्धिजीवी विज्ञ भनाउदाहरुले | सायद उनीहरुलाई जुन समुदाय राज्यबाट विगत २५० वर्ष देखि शोषण दमन सामाजिक अन्याय अत्याचार तिरस्कार बहिस्कार हुँदै आई रहेका छन् उनीहरुलाई त्यसरी आरोप प्रत्यारोप दोष लगाउदा आनन्द आउछ मनमा निकै सन्तुष्टि मिल्छ जस्तो छ, मूल समस्याको जड कहाँ छ र कसरी निराकरण गर्न सकिन्छ भन्ने भन्दा पनि उनीहरुको नियतहरु बुझ्दा |
चेलीबेटी बेचबिखन जस्तो अमानवीय दानवीय जघन्य अपराध सुनियोजित राजनीतिक र आर्थिक चलखेल र छलखेल हो तामांग समुदायमा विगतमा लादिएको न कि सामाजिक मुद्धा मात्र हो जुन हामीले सोच्ने बुझ्ने गर्छौ किन कि म स्वयं पनि १९९६ मा जब हिन्दुस्तानबाट १२० चेलीबेटी हिन्दुस्तानको बेश्यालयमा बेचिएका थिए उनीहरुलाई ५ बाट एनजीओले ल्याउदा तत्कालिन समयमा म कार्यरत संस्थाले पनि करिब २० जना पुनर्स्थापन गर्न जिम्मा लिएका थिए जसको ईन्जार्च म स्वयं थिए | ती बहिनीहरुको आफ्नै मुखबाट उनीहरुलाई कसरी किन कसले बिक्रि गरे भन्ने प्रत्यक्ष उनीहरुको जीवनको कथा सुन्ने अवसर मिलेको थियो | त्यसैले बाहिरी सतही रुपमा एनजीओ आइएनजीओमा काम गर्ने नियत र अरुलाई निच निर्दयी देखाउने गरी मात्र लेखहरु लेख्ने भाषण गर्दै शासन गर्न त्याग्नु पर्यो | नत्र हेर्दै जानु के के हुन्छ आगमी दिनहरुमा समयले आफ्नै बताउने छ |

स्रोत
१. मनोज लामिछाने २०७४. नेपालमा चेलीबेटि बेचबिखनको अवस्था र चुनौती https://gautambuddhasandesh.com/2017/10/04/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE-%E0%A4%9A%E0%A5%87%E0%A4%B2%E0%A5%80%E0%A4%AC%E0%A5%87%E0%A4%9F%E0%A4%BF-%E0%A4%AC%E0%A5%87%E0%A4%9A%E0%A4%AC%E0%A4%BF%E0%A4%96%E0%A4%A8/

No comments:

Post a Comment