Wednesday, 15 June 2016

तामाङ समाज जहाँ छैन लैङ्गिक विभेद

नेपाली समाजमा नारीको अवस्थाबारे बुझ्न अलिक गहन रुपमा सोच, खोज, विचार विमर्श, अध्ययन अनुसन्धान गरी विश्लेषण गर्नुपर्ने हुन्छ । किनकि नेपाली समाज दुई पृथक संस्कार, संस्कृति, परम्परा तथा धार्मिक आस्था र विश्वास बोकेका भारोपेली र भोट–बर्मेली भाषाभाषीहरुको मिश्रित समाज हो । मानव उत्पत्तिदेखि जन्म–मरणसम्म दैनिक सामाजिक, सांस्कृतिक, आर्थिक तथा धार्मिक क्रियाकलाप, रहनसहन, जीवनलाई हेर्ने दृष्टिकोण एवं दर्शन, मूल्य–मान्यता र मानसिकता नै भिन्न छन् । यी दुई समुदायमा हुर्के बढेका मानिसले नारी र पुरुषलाई गर्ने व्यवहार, हेर्ने दृष्टिकोण र व्यक्तिगत मानसिकता बाल्यकालदेखि नै पृथक रुपमा निर्माण भएको पाइन्छ । यसैअनुसार हाम्रा सामाजिक मूल्यमान्यता र मानसिकता अनि नारी र पुरुषलाई हेर्ने दृष्टिकोण पनि निर्माण भएको पाउँदछौँ । त्यसैले नेपाली समाजमा ‘छोरा जन्मे खसी, छोरी जन्मे फर्सी’ भन्ने जस्ता छोरा र छोरी जन्मे कसलाई बढी प्राथमिकता दिनुपर्दछ भन्ने अति नै लैङ्गिक विभेदपूर्ण विश्वास र मान्यताबारेको उक्तिको समेत निर्माण भएको पाउँछौँ ।
हुन त नेपाली समाज भन्ने बित्तिकै विशेषतः हिन्दुवादी आस्था र विश्वास, संस्कार, संस्कृतिअनुसार सञ्चालित र निर्देशित समाज भनेर बुझिन्छ र बुझ्नु पनि पर्दछ । मैले पनि यी कुरा आफ्नो विद्यावारिधी गर्ने क्रममा बुझ्ने अवसर पाएँ । यस अध्ययनको क्रममा महिला र पुरुषबीच किन विभेद छ, त्यसको मूल कारण के हो भनेर यथार्थ बुझ्ने प्रत्यन गरेँ । वास्तवमा महिला र पुरुषबीच जेजस्तो विभेद छ, विश्व मानव समाजमा त्यसको मूल कारकतत्व भनेको सङ्गठित धर्म रहेछ । परापूर्वकालदेखि नै मानव जातिका संस्कार, संस्कृति, परम्परा, सामाजिक मूल्यमान्यता र मानसिकता निर्देशित र सञ्चालित हुँदै आइरहेका छन् । मानव समाजमा छोरा र छोरीबीच किन भेदभाव गर्ने गरिन्छ ? जब यसबारे हामी गहन र गम्भीर रुपमा व्यक्तिगत र सम्प्रदायिक मनोभावनाभन्दा पनि प्रमाणमा आधारित तार्किक वैज्ञानिक ज्ञानलाई आधार मान्दै विश्लेषणात्मक ढङ्गले सोच, खोज गर्दै अध्ययन अनुसन्धान गरी बुझ्ने कोसिस गर्छौ, तब अन्य प्राणी जगतमा यस्तो विभेद बिल्कुलै पाउँदैनौँ । किनकि उनीहरु आदिमकालीन शोषकीय मानसिकता भएका मानवहरुद्वारा निर्मित सङ्गठित धर्म मान्ने गर्दैनन् । त्यसैले पनि उनीहरुको संसारमा कहिल्यै विभेद हुने गर्दैनन् ।
प्राकृतिक रुपमा लिएर आएका लिङ्ग (भाले र पोथी) छुट्टयाउने अङ्गको आधारमा जुन गर्ने गरिन्छ, हामी चेतनशील र विवेकशील भन्ने मानव जातिको संसारमा कस्तो आश्चर्यलाग्दो अवस्था छ । सत्य, तथ्य र यथार्थ बुझ्दा यस विश्व ब्रह्माण्डबारे प्रकृतिको सिद्धान्त र मानव समाजद्वारा कृत्रिम रुपमा निर्मित वस्तुबारे बुझ्ने प्रयासरत रहँदा विकसित राष्ट्रहरुद्वारा गरिएको नारी मुक्ति, नारी स्वतन्त्रता र नारी अधिकार अभियान र नारीवादीहरुद्वारा लिखित विश्लेषणात्मक लेखहरुको साथै उनीहरुको अभिव्यक्तिबाट पनि प्रस्ट रुपमा बुझिन्छ ।  
यदि जोकोहीले नारी मुक्ति र सुनियोजित रुपमा स्थापित सामाजिक पुरुषवादको दासत्वपनबाट आफू र आफ्ना भावी सन्ततिलाई मुक्ति दिलाउने हो भने आफूलाई सङ्गठित धर्मको अन्धभक्तिपनाबाट छुटकारा दिलाउन सक्नुपर्दछ । सामाजिक न्याय, आर्थिक समृद्धि र आम वर्गको मुक्तिका लागि लड्ने १९ औं शताब्दीका समाजवाद र साम्यवादको पिता तथा अभियन्ता यहुदीपुत्र कार्ल माक्र्सले समेत भनेका थिए– “धर्म भनेको अफिम हो, जुन हतियारको रुपमा प्रयोग गर्ने गर्छन् शोषक वर्गले आम नागरिकको मनमस्तिष्क नियन्त्रण गर्न । त्यसैले सामाजिक न्याय र व्यक्तिगत स्वतन्त्रता प्राप्त गर्न धर्मबाट आफूलाई अलग राख्नुपर्छ ।”
हाम्रोजस्ता अल्पविकसित राष्ट्रहरुमा अशिक्षा र अज्ञानताको कारणले ठूलो सङ्ख्यामा आम नागरिक अचेत छन् र उनीहरुलाई यसबारे जानकारी छैन । साथै जानकारी लिन पढेलेखेका शिक्षित वर्गहरु समेत मनमस्तिष्कमा उत्सुक र जिज्ञासु देखिँदैन सत्य, तथ्य र यथार्थ के हो भन्ने बुझ्नमा । त्यसैले आम मानिसहरु एकोहोरो परापूर्वकालदेखि परम्परागत रुपमा आफ्ना पुर्खा– हजुरआमा, आमाहरुले जे गर्दै आइरहेका छन्, सोही सिक्दै सिकाउँदै आइरहेको हामी देख्न र हेर्न पाउँदछौँ । पश्चिमेली मुलुकमा नारीलाई गरिने विभेदबाट मुक्ति दिलाउन ५औं शताब्दीदेखि नै सचेत शिक्षित महिलाहरुले सङ्गठित धर्मको विरुद्धमा आवाज उठाउँदै आएको पाउँदछौँ । जस्तै ग्रिकका गणितविज्ञ तथा दार्शनिक हाइपटियालाई सङ्गठित धर्मको विरुद्धमा आवाज उठाएकै कारण मृत्युदण्ड दिए तत्कालीन इसाइवादीहरुले ।
भाषाविद अमृत योन्जन–तामाङज्यूको यो “उज्यालो यात्रामा तामाङ महिला” भन्ने पुस्तकबाट प्रस्ट हुन्छ, बुद्धवादी जीवनदर्शन र धर्म परम्परा मान्दै आएको तामाङ समुदाय कतिको उदारवादी समाज छ, जहाँ नारीलाई एक मानवको रुपमा हेरिन्छ र जन्मदेखि मरणसम्म उनीहरुलाई एक मानवले अर्को मानवलाई गरिने व्यवहार गरिन्छ, जुन अन्य सङ्गठित धर्म दर्शन मान्ने समुदायमा पाउँदैनौँ । अन्य सङ्गठित धर्ममा नारी पुरुषबीच भेदभाव रहेको र नारीलाई दोश्रो दर्जाको रुपमा लिने गरेको तथ्यलाई बुझ्न सम्बन्धित धार्मिक समुदायमा नारीहरुको विगत र वर्तमानको अवस्था र उनीहरुको भूमिका सो धर्मग्रन्थ र शास्त्र ध्यानपूर्वक अध्ययन गरी नारी र पुरुषले गर्न हुने, नहुने आचरण, क्रियाकलाप र व्यवहारबाट प्रस्ट रुपमा बुझ्न सकिन्छ ।
तामाङ समुदायमा स्त्रीलिङ्ग झल्किने कुनै पनि शब्दको प्रयोग र उत्पत्ति नहुनुबाटै छर्लङ्ग हुन्छ कि तामाङ समाज लैङ्गिक विभेदरहित समाज हो । यही समाजमा पनि कालान्तरमा गएर लैङ्गिक विभेदपूर्ण व्यवहार र परम्पराको स्थापना हुन गयो । सामन्ती शासक शोषक वर्ग, विशेषतः जङ्गबहादुर राणाको पालामा १९औं शताब्दीमा लिखित “मुलुकी ऐन” लादिएकाले यस्तो भएको हो । “मुलुकी ऐन”को नाममा “मनुवाद दर्शन” अनुसार सामाजिक, सांस्कृतिक, राजनितिक र धार्मिक हिन्दुवाद जीवन दर्शन र दृष्टिकोण जबर्जस्ती लादिएकाले नै तामाङ समाजमा प्रभावमा परेको हो ।
हिन्दु समाजमा महिला रजस्वला भएको बखत अलग रहनु पर्ने, पूजापाठ गर्न नहुने, आफूभन्दा ठूलाबडा पुरुष र धार्मिक गुरुहरुलाई छुन नहुने जुन मान्यता छ, त्यो तामाङ समाजमा छैन । तर कतिपय तामाङ दिदीबहिनीहरुले अझै पनि त्यस्तो अभ्यास गर्ने गर्छन् अज्ञानताले गर्दा । हामै्र घरपरिवारमा पनि म र मेरो दिदीले पनि गर्ने गथ्र्यौ आजभन्दा २५–३० वर्ष अघिसम्म हिन्दुवादको प्रभावले गर्दा । मेरी आमाले प्रस्ट रुपमा बौद्धधर्म गुरु लामाबाट बुद्धदर्शनमा छोरीचेलीहरु रजस्वला हुँदा हिन्दुधर्म समाजमा झैँ बार्नु पर्दैन भनेर भनेपछि कुरा बुझेँ । हाम्रो आमाले त्यस्तो अभ्यासलाई आजबाटै रोक्ने र निरन्तरता नदिने भन्दै सोही अनुसार गराउन पहल गर्नुभयो ।
त्यसैले कुनै पनि घरपरिवार वा समाज परिवर्तनको संवाहक र संस्कार संस्कृतिको जगेर्ना गर्ने भनेको नारीले नै हुन् । त्यसमा पनि विशेषतः आमा हुन्, जो यस धर्तीका नवआगन्तुक मानव “नवशिशु”को पहिलो गुरु हुन् । अनौपचारिक रुपमा शिक्षादीक्षा दिने आमाहरुको हातमा एक मानव वा दानव, के निर्माण गर्ने भन्ने जिम्मेवारी हुने गर्दछ । त्यसैले पनि भन्ने गरिन्छ– “हरेक सफल पुरुषको पछाडि एक नारीको हात हुन्छ ।” यहीबाट पनि प्रस्ट हुन्छ नारी सशक्त, शिक्षित, सक्षम, स्वस्थ र सबल हुनुको कत्ति महत्व छ, जुन पाउने गर्छौँ तामाङ संस्कार, संस्कृति, परम्परा र उनीहरुले मान्दै आएको धर्म दर्शनमा । तर त्यसको भरपुर सदुपयोग र अभ्यास गर्नमा केवल ज्ञान, शिक्षा र चेतनाको कमी छ जुन केही हदसम्म भएता पनि पूर्ति गर्न सक्छ यस पुस्तकले भन्ने लागेको छ ।
स्रोत सामाग्री 
१. लक्ष्मी तामांगद्वारा लिखित भाषाविद एव‌ं अभियन्ता अमृत योन्जन–तामाङको नयाँ पुस्तक “उज्यालो यात्रामा तामाङ महिला” को भूमिकामा २०१६  ।

1 comment: