Monday, 12 January 2015

स्वस्थानी व्रत कथाको लेखेक बारे भ्रम र अन्योलता पण्डित ज्युहरु स्वयं

कुरा बुझ्दा हाँस मात्र उठ्छ अनि नबुझ्दा रिस | त्यसैले रिस खा आफु बुद्धि खा अर्का भन्ने गर्छन हाम्रो गाउँ समाजमा | 

खोई के खोई के पण्डित ज्युहरु आफै भ्रमित र अनविज्ञ हुनु हुँदा रहेछन कसले लेखेका हुन् स्वस्थानी ब्रत कथा भनेर अनि मेडमले पनि नेवारले लेखेका हुन् भन्नु भएको रहेछन | हामीले बुझ्नु पर्छ नेवार भनेको समाज बनाएको मात्र १४ औ शताब्दीमा हो हिन्दुस्तानको ५ जना ब्राह्मणहरुको सहयोगमा राजा जयस्थिति मल्लले मनुस्मृति र नारायण स्मृति अनुसार जुन प्रष्ट छ "मानव न्याय शास्त्र" मा जुन नेपालको पहिले कानून हो | त्यस्तैले नेवार भनेको मोगोलियन तथा आर्यन मुलका मानिसहरुको मिश्रीत समुदाय हो जहाँ ब्राह्मण, क्षेत्री, तामाङ्ग/किरात, आदि जातिहरु छन् | जे होस् सुनिल श्रेष्ठ प्रष्ट हुनु हुन्छ स्वस्थानी ब्रत कथाको लेखकको बारेमा र उहाँले लेख्नु हुन्छ कमेन्टमा यस्तो,


"स्वस्थानीकथाको प्राचिन लेखक महर्षि वेदव्यास हुन् |
धार्मिक ग्रन्थ स्वस्थानीकथाको प्राचिन लेखक को हुन् भनेर हामीले पढ्ने पुस्तकमा लेखेको छैन तर त्यो ग्रन्थको लेखिएको नाम जसले संकलन गरेर प्रकाशित गरे उनीहरुको हो| तर स्वस्थानीकथाको केहि हरफहरुलाई ध्यान दिएर अध्यन गर्ने हो भन्ने सो पुस्तक कहाँबाट साभार भएको हो भन्ने चै सजिलै थाहा पाउछौ ,सोहि आधार स्वस्थानीको लेखक सजिलै पतालाग्छ | जसरी 'गीताको' मूलश्रोत 'महाभारत' हो |.
स्वस्थानी कथाको हरेक अध्याय पछि हामीले उचारण गर्ने मन्त्र ""इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्मे कुमार अगस्य संबादे""लाइ ध्यानपुर्बक विश्लेषण गर्ने हो ""स्वस्थानीकथा"" ""स्कन्दपुराण""को 'केदारखण्ड' भन्ने उपशिर्षकबाट लिएको देखिन्छ | सनातन साहित्यको १८ पुराणहरु मध्य सबै भन्दा ठुलो पुराणको नाम हो "स्कन्दपुराण" जसमा ८१००० श्लोकहरु छन् ,जसलाई ७ खण्डमा बिभाजन गरिएको छ| ७ खण्ड मध्य पहिलो खण्डको नाम हो ""महेश्वर"" खण्ड ,सोहि ""महेश्वरखण्ड""को पहिलो उपखण्डको नाम हो "केदारखण्ड" नै ""स्वस्थानी कथा"" हो | स्कन्द भनेको भगवान कुमारको अर्को नाम पनि हो | १८ पुराणका लेखक महर्षि वेदव्यास हुन् | स्वस्थानी ब्रतकथाको प्राचिन लेखक पनि महर्षि वेदव्यास हुन्|"

रामेश्वरी पन्त ज्युको कान्तिपुर अनलाई जनवरी १०, २०१५ शिर्षक "स्वस्थानीका शिवजी" मा उल्लेख गर्नु भएको थियो:
"महादेव र पार्वती श्लेषमान्तक वनमा घुम्न जाँदा त्यहाँका किरातहरू सारै फोहोरी देखेर उनीहरूलाई सरसफाइ सम्बन्धी ज्ञान दिए । 'फोहोर तिमीहरूको जन्मजात गुण होइन, तिमीहरू पनि सफा बन्न सक्छौ' भन्दै उनीहरूलाई नुहाउन सिकाए, घुमन्ते किरातहरूका अशक्त, वृद्ध र बालबालिकाको सुरक्षाका लागि झुपडी बनाएर बस्न
सिकाए, खेतीपाती गर्न र जडिबुटीबाट औषधोपचार गर्न सिकाए । यसरी महादेव र पार्वतीले किरातहरूलाई सभ्य बन्न दिएको शिक्षा नै मानवशास्त्रमा मानिसले पाएको पहिलो शिक्षा थियो ।'"

मेडमले लेख्नु भएको यी हरफहरु पद्दा चाही मलाई हाँस उठ्यो किन कि महादेव स्वयं एक भोटे किरात हुन् भन्ने प्रमाण छ | तर यो चाही हिन्दुस्तानी पण्डितहरुले जुन मोङ्गोलियन मुलका भोट बर्मेली भाषीहरुलाई खिसी पुर्वक "किरात" भने जसको अर्थ हिन्दुस्तानबाट दक्षिण पूर्वी हिमालमा बस्ने जंगली सिंह प्रवृतिको मानिसहरु भन्ने हुँदा रहेछन उनीहरुलाई महादेवले नुहाउनु सिकाउनु भनेको चाही स्व-घोषित शुद्ध सफा स्वच्छ आफू जो एक लोटा पानीले स्नान गर्छन बाहिरी शरीर मात्र तर भित्र मन चाही फोहरी हुन्छ अनि भोटेहरु फोहोरी हुन्छ भन्न खोजेको बुझिन्छ |

मेरो यी माथिको प्रतिकृया फेसबुक स्टाटसमा पढे पछि तेन्जिंग लिम्बुलेख्नु हुन्छ,
हिन्दु बेद को मुख्य ज्ञान प्राचिन दक्षिण पुर्ब एसिया को स्थानीय बसी जसलाई बैदिक काल पछि किराँत भनेर चिनिने जाति को दर्शान लाई आर्य हरु ले आफ्नो स्वार्थ शिद्ध हुने संहिता को आवरण हालेर हिन्दु धर्म बनाएको हो l जुन तथ्य कुरा लाई आजसम्म को कुनै खोज कर्ता हरु ले उजागर गरेको छैनन l तथ्य लाई सहि खोज को विवरण ओझेल मा राखिएको प्रस्ट हुन्छ l जुन बेद पुराण र उपनिषद् र अन्य हिन्दु ग्रन्थ हरु मा लेखिएका धेरै तथ्य हरु बैदिक काल अघि देखि मानि आएका किराँत हरु को मुन्धुम र अन्य दर्शन ज्ञान हरुमा पाईन्छन l.
अर्को कुरा जहाँ बाट आर्य हरु आए त्यहाँ पुर्ब काल देखि आज सम्म को ईतिहास खोज्ने हो भने बैदिक काल देखि आज सम्म को ईतिहास लाई तुलना गरेर हेर्ने हो भने आर्या हरु आएको थात थलो मा हिन्दु दर्शन र आध्यात्मिक दर्शन र भौतिक आधारको कुनै अस्तित्व थिएन र छैन तेसैले पुष्टि गर्छ हिन्दु आर्य हरुले स्थानीय आध्यात्मिक दर्शन र भौतिक ज्ञान लाई आफ्नो ईच्छा पूर्ति हुने संहिता को आवरण राखेर आफ्नो बनाएका हुन् तेस्मा मुख्य आवरण मनुस्मृति हो भन्दा फरक नपर्ला l.


ज्वाजलाप्पा सकासिता ज्यु को प्रतिकृया यस्तो छ:  

हा हा हा हा, जति बुझ्न भ्याए, त्यति लेखे जस्तो लाग्यो । स्वस्थानीको कुरा र देविपुराणको कुरा कहाँ मेल खाएको छ, अत्तोपत्तो देखिन्न । यो लेख अपुरो अध्ययनको नतीजा हो, अध्ययन पुरा गर्न सामाग्री जुटाउने उद्देश्य लुकेको छ । स्वस्थानीमा नेवारले किन बाहुनको मात्र कथा लेख्यो ? किन कतै नेवार समाजको कथा लेखिएन, स्वस्थानीमा ? यो प्रश्न साँच्चै सोचनीय छ । नेवार समाजका स्यस्य: (श्रेष्ठ) हरुमा स्वस्थानी प्रचलित छ, यिनै श्रेष्ठहरु हिन्दुकरणमा चुर्लुम्म डुबेका समुह हुन र बर्मू च्य: बन्दै बाहुनबादको रक्षा गर्न मरिहत्ते गर्ने काममा पनि श्रेष्ठहरु नै अग्र पंक्तिमा छन । नेपालभाषा छोडेर आफ्ना सन्तानलाइ खसभाषा सिकाउनेहरु पनि श्रेष्ठ नै अग्रपंक्तिमा छन । यो सवै हेर्दा स्वस्थानी शायद नेवार समाजलाइ बाहुनबादको चंगुलमा लैजाने अस्त्र थियो कि जस्तो लागेको छ ।

निरोज गुरुङ ज्युको प्रतिकृया भने यस्तो थियो,  

लौन क्यारनी अब ! नगर र समाज बिकासका देउता दक्षप्रजापति हुन् (नामै हेर) जस्को शिर काटेर बाख्राको टाउको जोड्ने शिब जी जो स्वयम् समाजिक ब्यक्ति थिएन्न् लुगा नलगाउने असभ्य, खरानी धस्ने- भाङ धतुरो खाने, भुत-पिचाससँग बस्ने, साप-हड्डीको माला लगाउने, फोहोरी र लट्टा परेको कपाल भएको जोगीले कसैलाई नुहाउन, सफा हुन, झुपडी बनाउन, खेतीपाती गर्न कसरी सिकाए होलान् ! शिब शिब..हरि हरि !!

रामेश्वरी पन्त ज्युको पुरा लेख:

नेपाली समाजमा शताब्दियौंदेखि अत्यधिक श्रद्धापूर्वक व्रत, पूजा र पाठ गर्दै आएको स्वस्थानी व्रतकथाको पुस्तक सर्वप्रथम कहिले र कसले लेख्यो भन्ने कुरा अहिलेसम्म पनि कसैले ठोकुवा गरेर भन्नसकेको पाइएको छैन । नेवारी भाषामा लेखिएको भनिएको स्वस्थानी कथा पक्कै पनि कुनै नेवारले नै लेखेको हुनुपर्छ । त्यसो हो भने नेवारले किन बाहुनको मात्र कथा लेख्यो ? किन कतै नेवार समाजको
कथा लेखिएन, स्वस्थानीमा ? यो प्रश्न पनि सोचनीय देखिन्छ । जे होस्, नेवारले जे देख्यो, त्यही लेख्यो । तत्कालीन समयमा बाहुन समाजमा हिन्दु धर्म र परम्पराको नाममा महिलामाथि हुने ज्यादती, पतिव्रताका नाममा बाहुन महिलाले सहनुपरेका दुःख, बालविवाह, एकल महिलाले खेप्नुपरेका समस्या, धर्मको नाममा महिलालाई दिइने प्रताडनालाई स्वस्थानी कथासँग जोडिदिएको हुनसक्छ । जे होस्, यी प्रसंगलाई छोडेर स्वस्थानीकै ऐतिहासिक प्रसंगतिर
जानु सान्दर्भिक छ ।
आफ्नी प्राणप्यारी पत्नी सतीदेवीको मृत्युपछि शिव यति धेरै शोकाकुल बन्छन् कि उनलेे सतीदेवीको मृत शरीर बोकेर संसार भ्रमण गर्दै हिँंड्दा सतीको देह सडेर अङ्ग-अङ्गहरू विभिन्न ठाउँमा झर्दै जान्छन् र ती ठाउँहरूमा शक्तिपीठहरूको उत्पत्ति हुँदै जान्छ । सतीको अङ्गबाट एकाउन्न शक्तिपीठहरूको उत्पत्ति हुने क्रममा हामीले पढ्दै आएको स्वस्थानी कथामा यस्तो लेखिएको छ, 'पहिले नेपालमा पुग्दा गुह्यपतन भयो । नेपाल पीठ, गुह्येश्वरी देवी....उत्पत्ति भए ।' यस बाहेक स्वस्थानीमा नेपाल
शब्दको उल्लेख पाइँदैन । बाँकी सबै पीठहरू भारतमा रहेको कुरा स्वस्थानी पढ्दा थाहा लाग्छ । तर के यो नै साँचो हो त ? सतीको पहिलो अङ्ग नेपालमा खसेपछि अरू सब भारतमा कसरी ? के नेपालका शक्तिपीठहरू अतिक्रमित भएकै हुन् त ?
वैदिक वाङ्मयका ज्ञाता मदनमणि दीक्षितकै शब्दमा 'करिब १३०० वर्ष पुरानो स्कन्द पुराण लेखिएको ८०० वर्षपछि मात्र स्वस्थानी कथा लेखिएको देखिन्छ । ई.पू. ३०० (समुद्र गुप्तको समय) को इलाहाबादको स्तम्भमा 'नेपाल' भन्ने शब्द पहिलोपटक लेखिएको पाइएको छ । वैदिक र पौराणिक समयसम्म नेपाल र भारत एउटै सीमाभित्र पर्थे । लिखित इतिहासको कमीले गर्दा पनि स्वस्थानीमा उल्लेखित स्थानहरू नेपालमा पर्थे या भारतमा भन्नेमा कसैले ठोकुवा गरेर भन्न सक्ने स्थिति छैन । स्वस्थानीको आधार स्कन्द पुराण रहेको र सम्राट अकवरको पालादेखि स्कन्द पुराणमा नेपाल महात्म्य थपियो र स्वस्थानीका प्रसंग पनि यसैबाट लिइएको हो । पुराणहरू भारतमा लेखिए र यी पुराणहरू केही कालसम्म अंग्रेजको कब्जामा रहे । साम्राज्यवादीहरूले इतिहास बङयाउनकै लागि बौद्धिक सम्पत्तिमाथि कब्जा जमाउने हुँदा यही समयमा नेपालको धार्मिक इतिहासलाई पनि बङयाउँदै नेपालका शक्तिपीठहरू भारतमा रहेको भनिएको हुनसक्छ ।'
अर्का वैदिक ज्ञाता महेश्वर जुजु राजोपाध्यायसँगको भेट र उहाँले लेखेको स्वस्थानीको पुस्तकबाट प्राप्त जानकारीका आधारमा स्वस्थानी नेपालको मौलिक ऐतिहासिक धरोहर भएको पाइन्छ । जस अनुसार,
नेपालको टोखा चण्डीश्वरीमा दक्षयज्ञ कुण्ड, चण्डीश्वरी महाकाली र पशुमुण्ड दक्षको मूर्ति अझै पनि रहेको, सतीको पहिलो पीठ 'चरण शक्तिपीठ' देवीकुट थानकोटमा रहेको, यौनाङ्ग (गुह्य) पतन भएको गुह्येश्वरी, स्तनपतन भएको भक्तपुरको स्तन शक्तिपीठ जसलाई दुरुप्पःद्यः भनिन्छ, लगायत ४८ पीठहरू नेपालमै रहेको महेश्वर जुजुको भनाइ छ ।
थिमी कथाबाट लिइएको भनिएको गोमा, नवराज र चन्द्रावतीको कथालाई नेपालको वास्तविक इतिहास भएको र गोमाको माइती फर्पिङको ब्रह्मपुरमा रहेको, साँगा जरन्ताल वनेपाका शिव शर्मासँग गोमाको विवाह भएको, शिव शर्मा मरेको ठाउँ वनेपाको सुन्थानमा विचारी पाटीको अगाडि अझै पनि रहेको, गोमाले पुत्र पाएको ठाउँलाई गोमाडोल भन्ने गरिएको, चन्द्रावतीको माइती वनेपाको वुडोलमा रहेको र नवराज -न्वारनको नाम वन्हीराज) राजा भएपछि भक्तपुरको दत्तात्रयलाई राजधानी बनाएको कुरा उनले स्थापना गरेको तलेजु भक्तपुरको दत्तात्रयमा अझै छ र त्यसको पुजारी अझै पनि राजोपाध्याय बाहुन हुने गर्छन् । नवराज पनि राजोपाध्याय बाहुन रहेको कुरा त्यहाँ संकल्प गर्दा 'वन्हीराज कूल भट्टारक' भन्ने गरिएको बाट प्रमाणित हुन्छ भनेर महेश्वर भन्नुहुन्छ । त्यसैगरी कुष्ठरोग ग्रस्त चन्द्रावतीको उद्धार भएको ठाउँ शालीनदी पनि साँखुमा रहेको र त्यहीं आजपर्यन्त स्वस्थानी मेला लाग्ने गर्छ । यदि यी सब सत्य हुन् भने किन पुराण लेख्ने पण्डितहरूले स्वस्थानीलाई भारतीयकरण गरे ? कतै नेपाली भाषाको स्वस्थानीलाई बनारसका पण्डितहरूले लेखेका त होइनन् ?
स्वस्थानी कथामा शिवलाई एकातिर जोगीको रूपमा देखाइएको छ, त्यो पनि अत्यन्तै घिनलाग्दो जो भूतप्रेत पिशाच आदिले घेरिएर मशानमा बस्ने, खरानी घस्ने, बाघको छाला ओढ्ने, भाङधतुरो खाने, डमरु बजाउने, नाङ्गो, जता पायो उतै हिंँड्ने असभ्य र जंगली खालको संन्यासी । यतिसम्म नशेबाज र गैरजिम्मेवार रूपमा प्रस्तुत गरिएको छ कि छलपूर्वक भए पनि सतीदेवीसँग बिहे हुने भएपछि पनि समयमा दक्ष प्रजापतिको घरमा पुग्नुपर्ने महादेव बिहेको लगन गुज्रनै लाग्दासम्म भाङको नशामा लठठएर आफ्नै बिहेको दिन बिर्सेका छन् र ढिलोगरी दक्षको घर पुगेका छन् । फेरि सतीदेवीलाई दुलहीको रूपमा घरमा ल्याएपछि पनि उनी एउटा गैरजिम्मेवार पति बन्दै सतीदेवीलाई झुपडी देखाएर 'भित्र जा' भन्दै आफू तत्काल बाहिरै भाङ खाएर चार दिनसम्म बेहोश बनी लडेका छन् । भाङै नशामा आफ्नी पत्नी पार्वती रावणलाई दिएर पठाएका छन्, जालन्धर पत्नी वृन्दाको सतित्व नष्ट गर्न विष्णुलाई आदेश दिएका छन्, पाँच वषर्ीया अबोध बालिकालाई ढिलो भिक्षा दिएको निहुँमा भयानक श्राप दिएका छन् ।
अर्कोतिर शिवलाई भोगी अर्थात् सधैंजसो यौनकर्ममा लिप्त रहने पुरुषको रूपमा चित्रित गरिएको छ । पार्वतीसँग विवाह गरेपछि संसारै बिर्सिएर कैयौं दिनसम्म पार्वतीसँग यौनकर्ममा लिप्त रहेको र अति भएपछि देवताहरूले अग्निलाई पठाएर महादेव-पार्वतीको एकान्त यौनिक जीवन बिथोलेको, पार्वतीबाट मात्र सन्तुष्ट नभएर कहिले मृगरूप लिएर मृगिणीहरूसँग त कहिले हाँसको रूप लिएर हँसिनीहरूसँग रमाएको घटना कथामा प्रस्तुत गरिएको छ । त्यति मात्र नभएर महादेवलाई अर्काका स्त्रीहरू लिएर हिंँड्ने चरित्रहीनको आरोप पनि लगाइएको छ । सतीदेवीको मृत्युपछि मानसिक सन्तुलन गुमाएर नाङ्गै हिंँडेका शिवको लिङ्ग देखेर आफ्ना ऋषिपतिहरूबाट यौन अतृप्ति खेपिरहेका ऋषिपत्नीहरू शिवको पछि लागेर गएकोमा ऋषिहरूले शिवलाई दोषी देख्दै उनको लिङ्गपतन हुने श्राप दिन्छन् ।
के आज करोडौं हिन्दुहरूले अत्यन्त आस्थापूर्वक पुज्दै आएका देवाधिदेव महादेव साँच्ची नै यस्ता गैरजिम्मेवार र घृणित चरित्रका थिए त ? किन यसरी प्रस्तुत गरियो उनलाई ? हुनसक्छ, शिव अनार्य थिए र उनलाई आर्यहरूले मनपराउँदैनथे । स्वस्थानीको आधार स्कन्द पुराण भएकोले र पुराणहरू बाहुन पण्डित (आर्य) हरूले लेखेका हुनाले यसरी शिवलाई गलत किसिमले प्रस्तुत गरेका हुन सक्छन् ।
महेश्वर जुजु भन्नुहुन्छ, 'स्वस्थानी कथा नेपालको आदिकालीन इतिहास भएकोले यसको कुनै लिखित प्रमाण छैन, नत कुनै शिलालेख नै पाइन्छ । त्यसैले श्रुति परम्परामा विश्वास गर्नुपर्ने हुन्छ र यसैलाई स्रोत मान्नुपर्ने हुन्छ । पार्वतीसँग विवाह भएपछि महादेवले हिमालयसँग पार्वतीले आफूलाई पतिरूपमा प्राप्त गर्नका लागि कठिन तपस्या गरेको हुँदा उनको तपस्या र प्रेमको सम्मान गर्दै पार्वतीले तपस्या गरेको स्थानमा नै बस्ने इच्छा प्रकट गरे र शिव-पार्वती पाशुपत क्षेत्र देवपाटनमा बस्ती बसाएर बस्न थाले ।
महादेव र पार्वती श्लेषमान्तक वनमा घुम्न जाँदा त्यहाँका किरातहरू सारै फोहोरी देखेर उनीहरूलाई सरसफाइ सम्बन्धी ज्ञान दिए । 'फोहोर तिमीहरूको जन्मजात गुण होइन, तिमीहरू पनि सफा बन्न सक्छौ' भन्दै उनीहरूलाई नुहाउन सिकाए, घुमन्ते किरातहरूका अशक्त, वृद्ध र बालबालिकाको सुरक्षाका लागि झुपडी बनाएर बस्न
सिकाए, खेतीपाती गर्न र जडिबुटीबाट औषधोपचार गर्न सिकाए । यसरी महादेव र पार्वतीले किरातहरूलाई सभ्य बन्न दिएको शिक्षा नै मानवशास्त्रमा मानिसले पाएको पहिलो शिक्षा थियो ।'
यसरी एकातिर स्वस्थानीमा महादेवलाई असभ्य रूपमा प्रस्तुत गरेको पाइन्छ भने देवी पुराणअनुसार महादेवलाई सभ्य र ज्ञानीको रूपमा पाउन सकिन्छ । आखिर सही रूपमा महादेव (शिव) को थिए त ? भन्ने विषयमा थप अध्ययन जरुरी देखिन्छ ।
स्रोत: कान्तिपुर अनलाई जनवरी १०, २०१५ शिर्षक "स्वस्थानीका शिवजी" http://www.ekantipur.com/np/2071/9/26/full-story/401798.html

No comments:

Post a Comment